इरानविरुद्धको सैन्य अभियान बिस्तारै कम गर्न सकिने अमेरिकी राष्ट्रपति ट्रम्पको संकेत

User Image Prime TV News २ हप्ता अगाडि
Image of इरानविरुद्धको सैन्य अभियान बिस्तारै कम गर्न सकिने अमेरिकी राष्ट्रपति ट्रम्पको संकेत

काठमाडौ। इजरायल–इरानबीचको भीषण संघर्षले क्षेत्रीय स्थिरतामा कडा चोट पुर्याइरहेको बेलामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियान बिस्तारै कम गर्न सकिने संकेत दिएका छन्।

लगातार उग्र बन्दै गएको परिस्थितिलाई ‘गम्भीर मोड’ भनी वर्णन गर्दै उनले अमेरिकाले आफ्नो प्रमुख सैन्य लक्ष्य लगभग पूरा गरिसकेको दाबी गरे।

ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिकाको उद्देश्य इरानको मिसाइल शक्ति निस्तेज बनाउनु, रक्षा संरचना कमजोर पार्नु र परमाणु क्षमता हासिल गर्न नदिनु रहेको स्पष्ट रूपमा उल्लेख गरे।

उनका अनुसार यी लक्ष्यहरूमा महत्वपूर्ण प्रगति भइसकेकाले अब युद्धको तीव्रता घटाउने विकल्पबारे सोच्न सकिने अवस्था बनिरहेको छ।

युद्धको ताजा मोड इजरायलले इरानको महत्वपूर्ण ग्यास फिल्डमा गरेको आक्रमणपछि आएको हो। त्यसको प्रतिउत्तरमा इरानले कतारमा रहेको विश्वकै सबैभन्दा ठूलो एलएनजी प्लान्टलाई निशाना बनायो।

यसले क्षेत्रीय मात्र होइन, विश्व ऊर्जा बजारमा गहिरो संकट ल्याइदिएको छ। तेल तथा ग्यासको मूल्य आकस्मिक रूपमा बढेपछि बजार अस्थिर बनेको छ ।

इरानको जवाफी आक्रमणमा एक अमेरिकी एफ–३५ लडाकु विमानमा क्षति पुगेको पुष्टि भएको छ। पाइलट भने सुरक्षित रहेको बताइएको छ।

ऊर्जा आपूर्तिको संकट चर्किँदै गएपछि अमेरिकाले समुद्रमा रोकिएका इरानी तेल ट्यांकरहरूलाई अस्थायी राहत दिने निर्णय गरेको छ, जसले बजारमा केही समयका लागि भए पनि अत्यावश्यक स्थिरता ल्याउने अपेक्षा गरिएको छ।

ट्रम्पको ताजा वक्तव्यले अमेरिका युद्ध अन्त्यतिर लाग्ने संकेत दिन्छ। तर जमीनमा देखिएको वास्तविकता भने अझै पनि निकै तनावपूर्ण छ। इजरायल–इरानबीच आक्रमण रोकिएको छैन र कुनै पनि क्षण संघर्ष झनै भयावह बन्ने सम्भावना उच्च छ।