छानबिन प्रतिवेदन लुकाएर सरकार युवामाथि अत्याचार गर्दैछ: रक्षा बम

User Image Prime TV News २ हप्ता अगाडि
Image of छानबिन प्रतिवेदन लुकाएर सरकार युवामाथि अत्याचार गर्दैछ: रक्षा बम

काठमाडौ । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा भएका विवादास्पद घटनाहरूबारे तयार भएको सत्यतथ्य छानबिन प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्री सुशीला कार्कीलाई फेरि कठोर शैलीमा आग्रह गरेकी छिन्।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई उद्दत गर्दै बमले आफू र आफ्नो पुस्तामाथि थोपिएका आरोपले चरम मानसिक र सामाजिक दबाब सिर्जना गरेको बताइन्।

बमका अनुसार आन्दोलनको समयमा कोही युवालाई 'दंगाभडकाउने', 'सिंहदरबार आगजनीमा संलग्न', 'कुनै शक्तिबाट परिचालित' जस्ता गम्भीर आरोप लगाइएका छन् र ती आरोपको सत्य–असत्य प्रमाणित गर्ने एकमात्र आधार छानबिन प्रतिवेदन हो। प्रतिवेदन सार्वजनिक नगरी बस्नु सरकारको कमजोरी मात्र नभई पीडितहरूमाथि अन्याय हुने उनले स्पष्ट चेतावनी दिइन्।

प्रधानमन्त्री कार्कीले कठिन अवस्थामा नेतृत्व लिएर निर्वाचन सम्पन्न गराएको भन्दै बमले धन्यवाद व्यक्त गरे पनि अहिले देशभर युवाविरुद्ध फैलिएको अनियन्त्रित आरोप–प्रत्यारोपलाई उनले अत्यन्तै बिग्रिएको अवस्था भन्दै कठोर टिप्पणी गरिन्।

सामाजिक सञ्जालमा आफूले झेल्नुपरेको अपमानजनक व्यवहार 'असह्य' भएको बताउँदै उनले अब व्यक्तिगत स्पष्टीकरणले केही समाधान नदिने, राज्य पक्षले तथ्य सार्वजनिक गरेर निष्कर्ष निकाल्नुपर्ने आवश्यकता जोड दिइन्।

बमले पीडितहरूको आवाज झन् ठूलो हुँदै गएको र सरकार बेवास्ता गर्दै जानु गम्भीर गल्ती हुने दाबी गरिन्। उनका अनुसार प्रतिवेदन सार्वजनिक भए मात्र युवामाथि लगाइएका आरोपको वास्तविकता बाहिर आउँछ, नत्र भ्रम, गालीगलौज र अविश्वासले समाजलाई झनै हानी पुर्‍याउने बताइन् ।