अमेरिकी लडाकु विमान अवतरण गर्न नदिने श्रीलंकाको निर्णय

User Image Prime TV News २ हप्ता अगाडि
Image of अमेरिकी लडाकु विमान अवतरण गर्न नदिने श्रीलंकाको निर्णय

काठमाडौ । श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकले अमेरिकाले मागेको लडाकु विमान अवतरण अनुमति अस्वीकार गरिएको पुष्टि गरेका छन्।

संसद्मा सम्बोधन गर्दै उनले अमेरिकी पक्षले मार्च ४–८ का बीच दक्षिण श्रीलंकाको मत्ताला राजापाक्षे अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा एण्टी–सिप मिसाइलसहितका युद्धविमान उतार्न फेब्रुअरी २६ मा औपचारिक अनुरोध गरेको जानकारी दिए ।

यो अनुरोध अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य आक्रमण सुरु गर्नु दुई दिनअघि आएको थियो। दिसानायकेका अनुसार ती विमानहरू जिबुतीस्थित अमेरिकी सैन्य आधारबाट ल्याइने तयारीमा थिए।

तर, उनले स्पष्ट शब्दमा भने—देशको तटस्थता नै सर्वोच्च, त्यसैले सरकार निर्णयबाट पछि हटेन र अनुरोध अस्वीकार गर्‍यो। अमेरिकाले यस उडानको अन्तिम गन्तव्य खुलाएको थिएन।

सोही दिन श्रीलंकाले इरानबाट पनि संवेदनशील अनुरोध पाएको थियो। इरानले आफ्ना तीन युद्धपोतलाई ‘सद्भावना भ्रमण’का लागि श्रीलंकामा प्रवेश अनुमति मागेको थियो।

राष्ट्रपतिले भने, “यदि इरानलाई ‘हुन्छ’ भनिए अमेरिकालाई पनि त्यही भन्नुपर्ने हुन्थ्यो। कुनै पक्ष नलिने हाम्रो निर्णय दुवै अनुरोध अस्वीकार गर्नु नै थियो।”

मार्च ४ मा परिस्थितिले झन् भयावह मोड लियो। अमेरिकाले श्रीलंकाबाट केही दूरीमा रहेको इरानी युद्धपोत आईआरआईएस डेना माथि टर्पिडो प्रहार गर्‍यो। यस आक्रमणमा ८४ इरानी नाविकको मृत्यु भएको बताइएको छ।

श्रीलंकाली नौसेनाले समुद्रमा बाँच्न संघर्ष गरिरहेका ३२ जनालाई ज्यानै जोखिममा पारेर उद्धार गर्‍यो। तीमध्ये २२ जनालाई उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिसकिएको छ। सबैलाई दक्षिण श्रीलंकास्थित वायुसेना शिविरमा राखिएको छ।

मृतक नाविकहरूको अवशेष बोकेको एयरबस ए–३४० मत्ताला विमानस्थलबाट केही ढिलाइपछि इरान पठाइएको पुष्टि गरिएको छ। एक स्थानीय अधिकारीका अनुसार “८४ वटा बाकस लोड गर्न समय लागेकाले उडान ढिला” भएको हो।

आईआरआईएस डेना डुबेको भोलिपल्ट अर्को युद्धपोत आईआरआईएस बुसेहेर श्रीलंकाको समुद्री क्षेत्रमा आपतकालीन सहयोग माग्दै प्रवेश गर्‍यो। श्रीलंकाले मानवीय कारणले २१९ जना चालक दलका सदस्यसहित सो जहाजलाई सुरक्षित बन्दरगाह उपलब्ध गराइरहेको छ ।