देशभर मौसम बदली, विभिन्न स्थानमा मेघगर्जन सहित वर्षा
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशभर मौसम बदली (अधिकांश आकाशमा बादल लागेको) छ भने गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ/हुरीबताससहित मध्यमसम्मको वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान, कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना/हुरीबताससहित मध्यम वर्षा/हिमपात हुने सम्भावना छ। कोसी, मधेस र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
यस्तै राति पनि कोसी, मधेस र बागमती प्रदेश लगायत बाँकी पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ र बाँकी तराईमा आंशिक बादल लाग्नेछ। कोसी प्रदेशका केही स्थान, मधेस र बागमती प्रदेशलगायत बाँकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा अनि हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
यसैबिच काठमाडौँ उपत्यकामा पनि बिहानैदेखि मौसम धुम्म भएको छ। यहाँ पनि आज मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ ।












