कांग्रेसको आन्तरिक समिक्षाः नागरिक असन्तुष्टिको परिणाम स्वरूप कांग्रेस पराजित भयो

User Image Prime TV News २ हप्ता अगाडि
Image of कांग्रेसको आन्तरिक समिक्षाः नागरिक असन्तुष्टिको परिणाम स्वरूप कांग्रेस पराजित भयो

काठमाडौ । नेपाली कांग्रेसले पछिल्लो प्रतिनिधि सभा निर्वाचनमा भएको पराजयलाई नागरिकस्तरमा लामो समयदेखि बढ्दै आएको असन्तुष्टि र निराशाको प्रतिफलका रूपमा व्याख्या गरेको छ ।

पार्टी उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको समीक्षा प्रतिवेदनमा निर्वाचन परिणाम अप्रत्याशित नभई क्रमशः विकसित जनआक्रोशको अभिव्यक्ति भएको उल्लेख गरिएको छ।

प्रतिवेदनअनुसार संसद् र संविधानको रक्षाका लागि बनेको राजनीतिक गठबन्धनलाई पछि चुनावी प्रयोजनका लागि प्रयोग गरिँदा पार्टीभित्र र आम नागरिकमा नकारात्मक प्रभाव परेको थियो। यसले ‘गठबन्धन’ प्रति वितृष्णा बढाउँदै जनमतमा प्रतिकूल असर पारेको निष्कर्ष निकालिएको छ।

कांग्रेसले नागरिक असन्तुष्टि एकैचोटि नभई विभिन्न चरणमा प्रकट भएको जनाएको छ। २०७९ को स्थानीय तह निर्वाचन, त्यसपछिको संघीय निर्वाचन तथा भदौ महिनामा देखिएको युवा–केन्द्रित आन्दोलनलाई असन्तुष्टिको क्रमिक अभिव्यक्तिका रूपमा विश्लेषण गरिएको छ।

समीक्षामा स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको उदयले परम्परागत दलप्रति घट्दो विश्वासको संकेत दिएको उल्लेख छ। तर त्यसपछि पनि पार्टीले आवश्यक सुधार र रूपान्तरणको प्रक्रिया समयमै अघि नबढाएको स्वीकार गरिएको छ।

प्रतिवेदनमा पार्टीभित्र आएका सुधारका प्रस्तावहरूलाई बेवास्ता गरिएको, परिवर्तनको आवश्यकता पहिचान हुँदाहुँदै पनि कार्यान्वयनमा ढिलाइ भएको र त्यसले अन्ततः निर्वाचन परिणाममा असर पारेको उल्लेख छ।

विशेष महाधिवेशनपछि छोटो अवधिमा ठूलो परिवर्तन अपेक्षा गर्नु यथार्थपरक नभएको पनि कांग्रेसको निष्कर्ष छ। लामो समयदेखिको कमजोरीलाई सुधार नगरी अन्तिम चरणमा मात्र प्रयास गर्दा अपेक्षित परिणाम आउन नसकेको प्रतिवेदनले औंल्याएको छ।

कांग्रेसले अब भने नागरिकको सन्देशलाई आत्मसात् गर्दै पार्टीभित्र व्यापक सुधार र रूपान्तरणको प्रक्रिया अघि बढाउनुपर्ने निष्कर्ष निकालेको छ।