इनिसा विक हत्या प्रकरणमा न्यायको माग तीव्र, छानबिनमा ढिलाइ भएको आरोप

User Image Prime TV News २ हप्ता अगाडि
Image of इनिसा विक हत्या प्रकरणमा न्यायको माग तीव्र, छानबिनमा ढिलाइ भएको आरोप

काठमाडौ । इनिसा विक हत्या प्रकरणमा दोषी पहिचान गरी कडा कारबाही गर्न माग गर्दै नागरिक समाज र पीडित परिवारले सरकारमाथि दबाब बढाएका छन्। शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्ने वक्ताहरूले घटनाको निष्पक्ष छानबिन हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

राजनीतिज्ञ ऋषि धमला ले घटनालाई दबाउन खोजिएको आशंका व्यक्त गर्दै तत्काल छानबिन प्रक्रिया तीव्र पार्न गृह प्रशासनलाई आग्रह गरे। उनले पीडित परिवारलाई भेटेर न्याय दिलाउने प्रतिबद्धता जनाइसकेको उल्लेख गर्दै दोषीलाई उम्किन नदिन सबै पक्ष सचेत हुनुपर्ने बताए।

उनले सञ्चारमाध्यमलाई पनि जिम्मेवार र सक्रिय भूमिका खेल्न आग्रह गर्दै सत्य तथ्य बाहिर ल्याउन दबाब सिर्जना गर्नुपर्ने धारणा राखे। “इनिसा सम्पूर्ण नेपालीकी छोरी हुन्, उनलाई न्याय दिलाउन हामी पछि हट्नु हुँदैन,” उनले भने।

सरकारप्रति असन्तुष्टि जनाउँदै धमलाले उच्च सरकारी तहबाट पीडित परिवारप्रति पर्याप्त संवेदनशीलता नदेखिएको टिप्पणी गरे। साथै, यस्ता गम्भीर अपराधमा कडा कानुनी कारबाही आवश्यक रहेकोमा जोड दिए।

यता, पीडितका दाजु चन्द्रबहादुर विकले घटना भएको दुई साता बितिसक्दा पनि ठोस प्रगति नभएको गुनासो गरे। उनले अनुसन्धान प्रक्रियामा ढिलाइ भइरहेको भन्दै सम्बन्धित निकायसँग चाँडो न्याय दिन आग्रह गरे।

उनका अनुसार अनुसन्धानमा संलग्न अधिकारीहरूले मृतकको मोबाइलको लक अझै खोल्न नसकेको बताएका छन्, जसले अनुसन्धानलाई थप ढिलो बनाएको छ। साथै, पोस्टमार्टम रिपोर्टप्रति पनि शंका व्यक्त गर्दै त्यसमा संलग्न चिकित्सकलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गरिएको छ।

पत्रकार सम्मेलनमा अन्य सहभागीहरूले पनि घटनाको सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई कारबाही गर्न निरन्तर दबाब दिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले घटना ढाकछोप गर्न खोजिए कडा प्रतिकार गर्ने चेतावनीसमेत दिएका छन्।