कांग्रेस बैठकमा सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश

User Image Prime TV News २ हप्ता अगाडि
Image of कांग्रेस बैठकमा सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश

काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सभापति गगनकुमार थापाले दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश गरिएको छ। उपसभापति विश्वप्रकाश शर्माले चुनावी समीक्षा प्रतिवेदनसँगै उक्त प्रस्ताव अघि सारेका हुन्।

शर्माले प्रस्ताव पेश गर्दै पार्टीको नयाँ नेतृत्वले काम सुरु गरेको छोटो अवधिमा नै पूर्ण मूल्याङ्कन गर्नु उपयुक्त नहुने बताएका छन्। उनले “हनीमुन पिरियड” को सन्दर्भ उल्लेख गर्दै नेतृत्वको प्रारम्भिक चरणमा आंशिक संकेत मात्र देखिने र समग्र समीक्षा गर्न समय आवश्यक पर्ने धारणा व्यक्त गरे।

उनका अनुसार विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व आएको करिब ५० दिनको अवधिमा उल्लेखनीय उपलब्धि खोज्नु न त युक्तिसंगत हुन्छ, न त व्यक्तिप्रति न्यायपूर्ण। यस्तो अवस्थामा पार्टीलाई चुनौतीबाट पार लगाउने जिम्मेवारी छोडेर सभापतिले राजीनामा दिनु संगठनका लागि उपयुक्त कदम नहुने उनले स्पष्ट पारे।

शर्माले सभापति थापाले व्यक्त गरेको नैतिक जिम्मेवारीप्रतिको भावनालाई सम्मान गर्नुपर्ने उल्लेख गर्दै वर्तमान परिस्थितिमा पार्टीलाई सम्हाल्ने दायित्व नै सबैभन्दा ठूलो नैतिक जिम्मेवारी भएको बताएका छन्। त्यसैले थापाले दिएको राजीनामा अस्वीकृत गरी उनलाई नेतृत्वमा निरन्तरता दिनुपर्ने प्रस्ताव बैठकसमक्ष राखिएको हो।

यस प्रस्तावमाथि केन्द्रीय कार्यसमितिमा छलफल जारी रहने जनाइएको छ।