भारत–इरान कूटनीति : स्ट्रेट अफ हर्मुजमार्फत ग्यास आयातको बाटो खुल्यो
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । इरानका सर्वोच्च नेता आयातोल्लाह खलि खमेनीको मृत्युपछि भारतले स्ट्रेट अफ हर्मुजमार्फत ग्यास आयात गर्ने बाटो पुनः पाएको छ।
फेब्रुअरी २८ मा अमेरिका–इसराइलको संयुक्त आक्रमणमा खमेनीसहित इरानका उच्च सैन्य र राजनीतिक अधिकारीहरू मारिए। त्यसपछि इरानले स्ट्रेट अफ हर्मुज बन्द गर्ने घोषणा गरेको थियो। उक्त जलमार्ग विश्वका करिब २५ प्रतिशत कच्चा तेल र २० प्रतिशत ग्यासको परिवहनमा प्रयोग हुन्छ।
भारतमा खाना पकाउने ग्यासको करिब ९० प्रतिशत सो मार्गमार्फत आयात हुने भएकाले भारतका लागि आपूर्ति संकटको खतरा देखिएको थियो। मार्च ५ मा भारतका विदेश सचिवले दिल्लीस्थित इरानी दूतावासमा गएर समवेदना प्रकट गरे। त्यसपछि भारतीय विदेश मन्त्री जय शंकर र इरानी समकक्षी अब्बास अराग्चीसँग फोन वार्ता भएको थियो ।
यस कूटनीतिक प्रयासपछि इरानले भारतका लागि ग्यास बोकेको दुई जहाजलाई स्ट्रेट अफ हर्मुज प्रयोग गर्न अनुमति दिएको छ। सम्बन्धित घटनाक्रममा, खमेनीको मृत्युको अघिल्लो दिन एक इरानी युद्धपोत भारतको कोचीमा रोकियो भने अर्को युद्धपोतलाई श्रीलंका नजिकै अमेरिकाले प्रहार गरेको थियो। त्यसै परिस्थितिमा इरानले आफ्नो युद्धपोत भारतमा राख्न अनुमति मागेको थियो।
विशेषज्ञहरूका अनुसार यो कदमले भारत–इरान कूटनीति मजबुत भएको संकेत गर्दछ र ऊर्जा आपूर्तिको सुरक्षा सुनिश्चित गर्ने प्रयासको रूपमा लिइएको छ।












