सुर्खेतकी इनिसा विकको न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा बिकको सामूहिक बलात्कारपछि हत्या भएको घटनाप्रति विरोध जनाउँदै स्वतस्फुर्त रूपमा माइतीघर मण्डलामा शुक्रबार प्रदर्शन भएको छ।
प्रदर्शनमा सहभागी युवाहरूले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्य गर्न कडा कानुनी व्यवस्था आवश्यक रहेको भन्दै सरकारसँग दोषीलाई छिटो न्यायको दायरामा ल्याउने, पीडितलाई न्याय दिलाउने र महिला सुरक्षाका लागि ठोस नीति कार्यान्वयन सुनिश्चित गर्न दबाब दिएका छन्।
प्रदर्शनकारीहरूले प्लेकार्ड र ब्यानरमा “छोरीहरूको सुरक्षा गरौं”, “इनिसा विकलाई तुरुन्त न्याय दे”, “अपराधीलाई लुकाउन पाइँदैन”, “हिँसा सहिँदैन, न्याय चाहिन्छ” जस्ता नारा लेखेका थिए। विक गुर्भाकोट नगरपालिका–६ की निवासी थिइन्।
उनी २३ फागुन बिहान ट्युसन पढ्न घरबाट निस्किएकी थिइन्, तर अबेरसम्म घर नफर्केपछि खोजी गर्दा वीरेन्द्रनगर–४ स्थित शहीदपार्क नजिकै सामुदायिक वनमा उनको शव फेला परेको थियो।पोस्टमार्टम रिपोर्टअनुसार उनको मृत्यु बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण भएको पुष्टि भएको छ। प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ।













