गृहमन्त्री ओमप्रकाश अर्यालको राष्ट्रियसभा मनोनयन राष्ट्रपति समक्ष रोकियो

User Image Prime TV News २ हप्ता अगाडि
Image of गृहमन्त्री ओमप्रकाश अर्यालको राष्ट्रियसभा मनोनयन राष्ट्रपति समक्ष रोकियो

काठमाडौ । मन्त्रिपरिषद् बैठकले आइतबार निर्णय गरी गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको भए पनि ६ दिनसम्म कार्यान्वयन भएको छैन।

निर्णयसंगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्ट्रपतिलाई सम्बोधन गर्दै चिठी पठाएको थियो। प्रधानमन्त्री सचिवालयका अनुसार चिठी राष्ट्रपति पौडेलको हातमा पुगेको जानकारी मुख्यसचिव सुमनराज अर्याल मार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई दिइएको थियो।

तर संसद सचिवालयका सचिव रोजनाथ पाण्डेले उक्त पत्र सचिवालयमा नपुगेको जानकारी दिएका छन्। राष्ट्रपति कार्यालयका सहसचिव रेतश कुमार शाक्यका अनुसार पत्र “अध्ययन र प्रक्रियामा रहेको” बताइएको छ।

स्रोतका अनुसार, सामान्यतया राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिस तत्काल सदर गर्ने प्रचलन भए पनि पहिलोपटक यसरी रोकिएको छ। यदि अर्को मन्त्रिपरिषद् बैठकअघि निर्णय नभए, सरकारले दोस्रोपटक सिफारिस गर्ने तयारी गरिरहेको छ।

राष्ट्रपति सचिवालयका एक सदस्यले बताए अनुसार, राज्यको अन्य मनोनयन प्रक्रिया र राष्ट्रपति आफैंले गर्ने निर्णय फरक रहेको कारणले अर्यालको मनोनयन रोकिएको हो। हालसम्म राष्ट्रपति पौडेलले अर्यालको मनोनयनमा कुनै स्पष्ट जवाफ दिएका छैनन्।