जेनजी फ्रन्टले संयोजक रक्षा बममाथि दुर्व्यवहारको घोर भर्त्सना

User Image Prime TV News २ हप्ता अगाडि
Image of जेनजी फ्रन्टले संयोजक रक्षा बममाथि दुर्व्यवहारको घोर भर्त्सना

काठमाडौ । नेपाल जेनजी फ्रन्टले माइतीघरमा प्रदर्शनरत आफ्ना संयोजक रक्षा बम माथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ। फ्रन्टले शुक्रबार जारी विज्ञप्तिमा घटनालाई “सभ्य लोकतान्त्रिक समाजमा अस्वीकार्य” भन्दै घोर भर्त्सना गरेको छ।

फ्रन्टले भनेको छ, “बिहीबार शान्तिपूर्ण प्रदर्शनका क्रममा संयोजकमाथि भएको दुर्व्यवहार संविधानले सुनिश्चित गरेको शान्तिपूर्ण भेला र अभिव्यक्तिको स्वतन्त्रता विपरितको कार्य हो। सत्य र न्यायको आवाज उठाइरहेकी आन्दोलनकारीमाथि यस्तो आक्रमण सह्य गर्न सकिंदैन।”

भदौ २३ र २४ को जेनजी आन्दोलनको छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै अगुवाहरू ६ दिनदेखि माइतीघरमा प्रदर्शनरत छन्। प्रदर्शनका क्रममा आन्दोलनका घाइते अगुवाहरूले रक्षा बममाथि नाराबाजी गरेका थिए।

फ्रन्टले भनेको छ, “आन्दोलनका सबै पात्र घाइते, सहिद परिवार, आन्दोलनकारी र अगुवाहरू एउटै यात्राका साझेदार हुन्। पीडाले कहिलेकाहीँ आक्रोशको रूप लिन सक्छ, तर यसको उत्तर आपसी द्वन्द्वमा नभई राज्यसँग खोजिनुपर्छ। राज्यले सत्य लुकाइरहेको अवस्थामा एक आन्दोलनकारीमाथि भएको दुर्व्यवहारले आन्दोलनलाई कमजोर बनाउनेछ।”

फ्रन्टले अब सरकारले शान्तिपूर्ण प्रदर्शनमा सहभागी सबैको सुरक्षा सुनिश्चित गर्न ध्यान दिनुपर्नेमा जोड दिएको छ।