जेएनजी आन्दोलनका घाइतेहरूको अन्तिम वर्गीकरण चैत २० सम्म
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेएनजी आन्दोलनका क्रममा घाइते भई वर्गीकरणबाट बाहिर परेका व्यक्तिहरूलाई अन्तिम अवसर दिएको छ। प्रशासनले जारी गरेको सूचनाअनुसार चैत २० गते अन्तिम पटक वर्गीकरण प्रक्रिया सम्पन्न गरिनेछ।
सहायक प्रमुख जिल्ला अधिकारी मुक्तीराम रिजालका अनुसार, विभिन्न कारणले अघिल्ला अवसरमा उपस्थित हुन नसकेका घाइतेहरूलाई लक्षित गर्दै यो आह्वान गरिएको हो। घाइतेहरूले वर्गीकरणमा सहभागी हुन दिउँसो १२ बजेसम्म जिल्ला प्रशासन कार्यालय, काठमाडौं पुग्नुपर्नेछ।
आवेदनका लागि उपचार तथा स्वास्थ्य परीक्षणका प्रमाणपत्र, सबै आवश्यक कागजात र जेएनजी घाइते परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने प्रशासनले उल्लेख गरेको छ। साथै, घाइतेहरुको उपस्थिती अनिवार्य रहेको छ।
जिल्ला प्रशासनले स्पष्ट पारेको छ कि ‘जेएनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२’ अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिले अधिकांश घाइतेको वर्गीकरण पहिले नै सम्पन्न गरिसकेको छ। अघिल्ला अवसरहरूमा २०८२ मंसिर ५, मंसिर १२ र माघ १८ मा धेरैको वर्गीकरण भइसकेको छ।
प्रशासनले अन्तिम अवसर नगर्ने व्यक्तिहरूलाई पुनः मौका नदिइने चेतावनी पनि दिएको छ।








