अर्थ मन्त्री रामेश्वर खनाल मन्त्रालयका कामकाजबाट अलग
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । अर्थ मन्त्री रामेश्वर खनालले ‘कुलिङ पिरियड’ सुरु भएको घोषणा गर्दै मन्त्रालयका कामकाजबाट अलग रहने निर्णय गरेपछि अर्थ मन्त्रालयमा नीतिगत निर्णय प्रक्रिया अस्थायी रूपमा प्रभावित हुने भएको छ।
निर्वाचनको मत परिणामको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस भएसँगै खनालले सामाजिक सञ्जालमार्फत आफू अब मन्त्रालयका गतिविधिमा सहभागी नहुने स्पष्ट पारेका हुन्। उनले “अब नाम जोडेर हल्ला नफैलाउन” आग्रह गर्दै आफ्नो भूमिका समाप्त भएको संकेत दिएका छन्।
अर्थ मन्त्रालयका प्रवक्ताका अनुसार नयाँ मन्त्री नियुक्त नहुँदासम्म नीतिगत निर्णयहरू रोकिने छन्। “मन्त्रीस्तरबाट हुने निर्णय अब हुँदैन, तर दैनिक प्रशासनिक काम भने निरन्तर चलिरहन्छ,” उनले बताए।
यद्यपि, सरकारले अघि बढाइरहेको नयाँ आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा भने कुनै अवरोध नआउने दाबी गरिएको छ। प्राविधिक र प्रशासनिक तहबाट बजेट तयारीको काम जारी रहने जनाइएको छ।
खनालको बाहिरिने निर्णयसँगै अर्थ मन्त्रालयमा नेतृत्व रिक्तजस्तै अवस्था बनेको छ। अब नयाँ मन्त्रीको नियुक्तिपछि मात्र महत्वपूर्ण नीतिगत निर्णयहरू अघि बढ्नेछन्।







