कांग्रेसभित्र नेतृत्व बहस: गगन थापाको राजीनामा अस्वीकृत गर्ने तयारी
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेस भित्र सभापति गगन थापाले दिएको राजीनामालाई लिएर नयाँ बहस सुरु भएको छ। पार्टी उपसभापति विश्वप्रकाश शर्माले उक्त राजीनामा अस्वीकृत गर्ने प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा पेस गरिने जानकारी दिएका छन्।
सानेपास्थित केन्द्रीय कार्यालयमा भोलि दिउँसो १ बजे बस्ने बैठकमा सभापति थापाको राजीनामामाथि छलफलसँगै प्रारम्भिक चुनाव समीक्षा पनि गरिनेछ। उपसभापति शर्माले सामाजिक सञ्जालमार्फत अहिलेको अवस्थामा नेतृत्व परिवर्तनभन्दा पार्टीलाई स्थिरता दिनु प्राथमिक जिम्मेवारी भएको बताएका छन्।
“नैतिक जिम्मेवारी लिनु राम्रो हो, तर अहिलेको मुख्य आवश्यकता स्थिति सम्हाल्नु हो,” उनले उल्लेख गरेका छन्। उनले राजीनामा अस्वीकृत गर्नुपर्ने पक्षमा तर्क गर्दै वर्तमान चुनौतीपूर्ण अवस्थामा नेतृत्वलाई निरन्तरता दिनुपर्ने बताएका छन्।
सभापति थापाले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा पार्टीको कमजोर प्रदर्शनको जिम्मेवारी लिँदै राजीनामा दिएका थिए। उक्त निर्वाचनमा कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरी ३८ सिट मात्र जितेको थियो, जसले पार्टीभित्र समीक्षा र सुधारको आवश्यकता औंल्याएको छ।
बैठकले राजीनामा स्वीकृत गर्ने वा अस्वीकृत गर्ने भन्ने विषयमा अन्तिम निर्णय लिनेछ ।







