सुनचाँदीको मूल्यमा गिरावट,सुन प्रतितोला ७८ सय रुपैयाँले घट्यो

User Image Prime TV News २ हप्ता अगाडि
Image of सुनचाँदीको मूल्यमा गिरावट,सुन प्रतितोला ७८ सय रुपैयाँले घट्यो

काठमाडौ । नेपाली बजारमा शुक्रबार सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ७८ सय रुपैयाँले घटेको हो।

यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बिहीबार भने यही सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। एकैदिनमा आएको उल्लेखनीय गिरावटले बजारमा पुनः चहलपहल बढ्ने संकेत देखिएको व्यवसायीहरू बताउँछन्।

चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार चाँदी प्रतितोला ११५ रुपैयाँले सस्तो हुँदै ४ हजार ८९५ रुपैयाँ कायम भएको छ। बिहीबार भने चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा किनबेच भएको थियो । व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा परेको हो।