नेकपा पार्टीभित्र ‘घण्टी’ विवाद : भोट नहाल्ने नेतामाथि कारबाहीको तयारी
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधि सभा निर्वाचनपछि पार्टीभित्रकै नेताहरूले आफ्नो उम्मेदवारलाई भोट नदिएको आरोप लगाउँदै आन्तरिक छानबिन तीव्र बनाएको छ। पार्टी नेतृत्वले यस्तो गतिविधिमा संलग्न नेताहरूलाई कारबाही गर्ने स्पष्ट चेतावनी दिएको छ।
पार्टी कार्यालय पेरिसडाँडामा आयोजित जनवर्गीय संगठनका नेताहरूको बैठकलाई सम्बोधन गर्दै संयोजक पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यदेखि तल्लो तहसम्मका नेता–कार्यकर्ताले पार्टीको आधिकारिक उम्मेदवारलाई भोट नदिएको रिपोर्ट आएको जानकारी दिए। उनका अनुसार प्रारम्भिक विवरणमा करिब ५० प्रतिशत भोट रास्वपाको चुनाव चिह्न ‘घण्टी’मा गएको देखिएको छ।
“को–कोले पार्टीका उम्मेदवारलाई भोट हालेनन्, को–को घण्टीमा गए, यसको ठोस विवरण आवश्यक छ,” प्रचण्डले भने, “त्यस्ता व्यक्तिमाथि कडाभन्दा कडा कारबाही गरिन्छ, सुरु नै केन्द्रीय सदस्यबाट हुन्छ।”
पार्टीले चुनावलगत्तै सबै तहका कमिटीलाई समीक्षा रिपोर्ट पठाउन निर्देशन दिएको छ। हाल ती रिपोर्ट संकलन भइरहेको र धेरैजसो निष्कर्षमा आफ्नै संगठित कार्यकर्ताबाट पर्याप्त समर्थन नपाउँदा पराजय व्यहोर्नुपरेको उल्लेख गरिएको स्रोतले जनाएको छ।
हालै सम्पन्न निर्वाचनमा रास्वपाले उल्लेखनीय सफलता हासिल गर्दै १२५ सिट जितेको थियो भने नेकपाले मात्र ८ सिटमा सीमित भएको थियो। प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भए पनि सहसंयोजक माधब नेपाल आफ्नै गृहजिल्ला रौतहटमा पराजित भएका थिए। पार्टी नेतृत्वले आन्तरिक अनुशासन कडाइ गर्दै पुनर्गठन प्रक्रिया अघि बढाउने जनाएको छ। “पार्टीलाई सुदृढ बनाउन आवश्यक कदम चालिन्छ,” प्रचण्डले भने, “पुनर्गठन यहीँबाट सुरु हुन्छ।”







