इरानी ऊर्जा संरचनामा थप आक्रमण नगर्ने इजरायलको घोषणा, क्षेत्रीय तनाव कायमै
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानका महत्त्वपूर्ण ऊर्जा संरचनामाथि थप आक्रमण नगर्ने घोषणा गरेका छन्।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले डोनाल्ड ट्रम्पले भविष्यमा यस्ता आक्रमण रोक्न आग्रह गरेको र इजरायलले त्यसलाई सम्मान गर्ने बताएका हुन्।
उनको भनाइ सार्वजनिक भइरहँदा इजरायलले इरानसँग सम्बन्धित लक्ष्यहरूमा आक्रमण भने जारी राखेको छ। नेतन्याहूले हालै इरानको दक्षिण पार्स ग्यास क्षेत्रसँग सम्बन्धित एक प्रशोधन केन्द्रमा इजरायलले एकल रूपमा आक्रमण गरेको पुष्टि गरेका छन्। उक्त क्षेत्र विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डारमध्ये एक मानिन्छ।
यस आक्रमणलाई युद्ध थप चर्किने संकेतका रूपमा लिएका छन्। यसअघि इजरायलले इन्धन भण्डारण स्थलहरूलाई मात्र निशाना बनाउँदै आएकोमा उत्पादन केन्द्रमै प्रहार हुनु रणनीतिक रूपमा महत्वपूर्ण परिवर्तन मानिएको छ।
यसको प्रत्युत्तरमा इरानले पर्सियन खाडी क्षेत्रका छिमेकी देशहरूको ऊर्जा संरचनामा हमला गरेको बताइएको छ। विशेषगरी कतारको प्रमुख ऊर्जा केन्द्र रास लाफानमा ठूलो क्षति पुगेको कतारी स्रोतहरूले जनाएका छन्।
घटनापछि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा मूल्य तीव्र रूपमा बढेको छ। विज्ञहरूले यस्तो अवस्थाले दीर्घकालीन ग्यास अभाव निम्त्याउन सक्ने चेतावनी दिएका छन्। अहिलेको अवस्था हेर्दा क्षेत्रीय द्वन्द्वले विश्व ऊर्जा सुरक्षामै गम्भीर प्रभाव पार्ने संकेत देखिएको छ।












