अमेरिका इरानी तेलमाथिको प्रतिबन्ध हटाउने तयारीमा, विश्व ऊर्जा बजारमा हलचल

User Image Prime TV News २ हप्ता अगाडि
Image of अमेरिका इरानी तेलमाथिको प्रतिबन्ध हटाउने तयारीमा, विश्व ऊर्जा बजारमा हलचल

काठमाडौ । अमेरिकाले विश्वव्यापी ऊर्जा बजार स्थिर बनाउने नाममा इरानी तेलमाथि लगाइएको प्रतिबन्ध हटाउने तयारी गरेको छ।

स्कट बेसेन्टले यस कदमको पुष्टि गर्दै यो डोनाल्ड ट्रम्प प्रशासनको समन्वयात्मक रणनीतिक प्रयासको हिस्सा भएको बताएका छन्। फक्स न्युजसँगको अन्तर्वार्तामा बेसेन्टले ऊर्जा सुरक्षासम्बन्धी तत्काल चुनौती समाधान गर्न “ब्रेक द ग्लास” योजना लागू गरिएको जानकारी दिए।

उनका अनुसार समुद्रमा रोकिएको करिब १४० मिलियन ब्यारेल इरानी तेलमाथिको प्रतिबन्ध हटाउन सकिनेछ, जुन हाल चीनतर्फ पठाइँदै आएको थियो। यो परिमाण विश्व बजारका लागि १० देखि १४ दिनको आपूर्तिको बराबर मानिन्छ।

अमेरिकी पक्षले यो कदमलाई तेलको मूल्य नियन्त्रण गर्ने उपायका रूपमा प्रस्तुत गरेको छ। बेसेन्टका अनुसार अमेरिका विश्वव्यापी मूल्यलाई प्रभाव पार्न सक्षम विभिन्न माध्यम प्रयोग गर्न तयार छ, जसमा घरेलु तेल भण्डारको उपयोग पनि समावेश छ।

उनले यसअघि रुसमाथिको प्रतिबन्ध खुकुलो पार्दा करिब १३० मिलियन ब्यारेल तेल बजारमा आएको उदाहरणसमेत दिएका छन्। यसबाहेक, अमेरिकाले आफ्नो ‘रणनीतिक पेट्रोलियम भण्डार’बाट ४०० मिलियन ब्यारेल तेल जारी गर्ने स्वीकृति दिइएको जनाएको छ, जुन इतिहासकै ठूलो परिमाणमध्ये एक हो।

अन्य देशहरूले पनि बजार स्थिर राख्न समान कदम चाल्न सक्ने संकेत गरिएको छ। तर, यस्तो निर्णय केवल बजार स्थिरताको लागि मात्र नभई भूराजनीतिक स्वार्थसँग गहिरो रूपमा जोडिएको बताइएको छ ।