अमेरिकी एफ–३५ लाई इरानको निशाना, आपतकालीन अवतरण
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । अमेरिकाको एफ-३५ लडाकु विमान मध्यपूर्वको एक हवाई अड्डामा आपतकालीन अवतरण गरिएको छ ।
बिहीबार विमान सुरक्षित अवतरण भएको र पाइलटको अवस्था स्थिर रहेको अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) का प्रवक्ता क्याप्टेन टिम हकिन्सले बताएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले लेखेको छ ।
इरानमाथि लडाइँ अभियानपछि अमेरिकी F-35 विमान क्षेत्रीय अमेरिकी हवाई अड्डामा आपतकालीन अवतरण गरेको रिपोर्ट प्राप्त भएको भन्दै हकिन्सले विज्ञप्तिमा पाइलट स्थिर अवस्थामा रहेको उल्लेख गरेका छन् ।
सीएनएनका अनुसार १०० मिलियन डलरसम्मको मूल्य पर्ने उक्त विमानलाई इरानले प्रहार गरेको हुन सक्ने बताएको समाचारमा लेखिएको छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले अमेरिकी विमानलाई निशाना बनाएको बताएको छ । फेब्रुअरी २८ मा युद्ध सुरू भएदेखि, अमेरिकाले लगभग १२ MQ-9 रिपर ड्रोनहरू गुमाएको बताइएको छ।
अमेरिकी अधिकारीहरूले साउदी अरेबियाको एक अड्डामा इरानी क्षेप्यास्त्र आक्रमणमा पाँचवटा KC-135 रिफ्युलिङ विमानहरू क्षतिग्रस्त भएको बताएका छन्, यद्यपि ती रिपोर्टहरू स्वतन्त्र रूपमा प्रमाणित भएका छैनन् ।







