शपथका लागि सांसद दुई घण्टा अगाडि उपस्थित हुनुपर्ने
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । सङ्घीय संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आगामी चैत १२ गतेका लागि तय गरेको छ। सचिवालयले जारी गरेको सूचनाअनुसार बिहीबार दिउँसो २ बजे शपथ ग्रहण कार्यक्रम सञ्चालन हुनेछ।
शपथ कार्यक्रम सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा आयोजना गरिनेछ। सचिवालयका अनुसार सबै निर्वाचित सदस्यहरू कार्यक्रम सुरु हुनुभन्दा कम्तीमा दुई घण्टा अगावै उपस्थित हुन अनिवार्य गरिएको छ।
सदस्यहरूले शपथ ग्रहणका लागि आउँदा निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र (सक्कल र प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा हालसालै खिचिएको दुई प्रति पासपोर्ट साइज फोटो अनिवार्य रूपमा ल्याउनुपर्नेछ।
सचिवालयले सदस्यहरूलाई औपचारिक पोसाक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने राष्ट्रिय पोसाकमा उपस्थित हुन आग्रह गरेको छ। साथै, नेपाली बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यहरूका लागि पनि व्यवस्था गरिएको छ। यस्ता सदस्यहरूले शपथको पाठ आफ्नो मातृभाषामा अनुवाद गरी शपथ कार्यक्रमभन्दा कम्तीमा तीन दिन अगावै संसद् सचिवालयमा बुझाउनुपर्नेछ।
यो सूचना पद्म प्रसाद पाण्डेद्वारा जारी गरिएको हो। सचिवालयले सबै जिल्ला प्रशासन कार्यालयहरूसँग समन्वय गरी सम्बन्धित निर्वाचित सदस्यहरूलाई समयमै जानकारी गराउन अनुरोध समेत गरेको छ।













