कांग्रेस केन्द्रीय समिति बैठक आज, थापाको राजीनामामाथि निर्णायक छलफल हुने

User Image Prime TV News २ हप्ता अगाडि
Image of कांग्रेस केन्द्रीय समिति बैठक आज, थापाको राजीनामामाथि निर्णायक छलफल हुने

काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक बस्न लागेको बैठकले पार्टीको आगामी दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।

बैठकको मुख्य एजेन्डा निर्वाचनको समीक्षा र भावी रणनीति निर्माण भए पनि सबैभन्दा बढी चासो भने पार्टी सभापति गगन कुमार थापाको राजीनामामाथि केन्द्रित छ। थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएका थिए।

उपसभापति शर्माले भने थापाको राजीनामा अस्वीकार गर्ने तयारी गरेका छन्। उनले केन्द्रीय समितिमा औपचारिक प्रस्ताव लैजाने बताइएको छ। यद्यपि अन्तिम निर्णय भने बैठकको छलफलपछि मात्र हुनेछ।

थापाको राजीनामापछि पहिलोपटक बैठकको नेतृत्व पनि शर्माले नै गर्नेछन्। विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापति बनेका थापाको आकस्मिक राजीनामाले पार्टीभित्र तरंग उत्पन्न गरेको छ।

उपसभापति पुष्पा भुसालका अनुसार बैठकमा निर्वाचन परिणामको गहिरो समीक्षा गरिनेछ। पार्टीको कमजोरी, रणनीतिक त्रुटि र आगामी कार्यदिशाबारे स्पष्ट बहस हुने तयारी छ।

दिउँसो १ बजे सानेपास्थित पार्टी कार्यालयमा सुरु हुनेछ ।