नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण चैत १२ गते
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूले चैत १२ गते दिउँसो दुई बजे शपथ ग्रहण गर्ने भएका छन्। संघीय संसद सचिवालयले बिहीबार सिंहदरबारमा नयाँ प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलसँग छलफल गर्दै तयारी पूरा गरेको जानकारी दिएको छ।
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार, शपथ ग्रहणअघि ज्येष्ठ सदस्यको पहिचान गरी उनी राष्ट्रपतिसँग शपथ ग्रहण गर्नेछन्। त्यसपछि ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ खुवाउने व्यवस्था हुनेछ।
नवनिर्वाचित सदस्यहरूको अभिमुखीकरण कार्यक्रममा व्यवहारिक पक्षमा बढी केन्द्रित सामग्री समावेश गर्न दलहरूले सुझाव दिएका छन्। साथै, संसदीय दलका कार्यालय व्यवस्थापन चुनौतीपूर्ण रहेकाले उपलब्धताअनुसार व्यवस्था मिलाइएको छ।
ठूला दलका लागि कार्यालय व्यवस्थापनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेकपाको कार्यालयमा व्यवस्था गरिएको छ। सचिवालयले अब शपथ ग्रहणको दिनसम्म सबै तयारी पूरा गरेको जनाएको छ।













