नेपाली कम्युनिष्ट पार्टीले निर्वाचन पराजयको समीक्षा गर्न सचिवालय बैठक बोलाउने
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीले अपेक्षित नतिजा हासिल गर्न नसकेपछि सचिवालय बैठक बोलाएर गम्भीर समीक्षा गर्ने तयारी गरेको छ।
फागुन २१ मा सम्पन्न निर्वाचनमा पार्टीले १७ सिट मात्र जितेर चौथो स्थानमा सीमित रह्यो। यसअघि माओवादी केन्द्र एक्लैले २०७९ सालको निर्वाचनमा ३२ सिट जितेको थियो। पार्टीमा आवद्ध विभिन्न वामपन्थी घटकसँगको एकताका बाबजुद यसपटक नतिजा नआउँदा पार्टी नेतृत्वमा चिन्ता बढेको छ।
फागुन २८ गते पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको प्रारम्भिक सचिवालय बैठकमा सातै प्रदेशका निर्वाचन परिचालन समितिका संयोजक सहभागी थिए। बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति देखिएको जनलहरले पार्टीलाई धक्का पुर्याएको निष्कर्ष प्रस्तुत गरेका थिए।
नेकपा नेता अग्निप्रसाद सापकोटाका अनुसार एक–दुई दिनभित्र सचिवालय बैठक बस्नेछ। बैठकमा प्रत्येक निर्वाचनमा पार्टीले पाएको धक्काका विषयमा निर्मम समीक्षा हुने बताईएको छ । साथै पार्टीको रुपान्तरण, पुनर्गठन र विचार संश्लेषणसम्बन्धी योजना पनि बैठकमा प्रस्तुत हुने बताइएको छ।
सापकोटाका अनुसार पार्टीलाई बलियो र क्रियाशील बनाउने उद्देश्यले आगामी असारसम्म महाधिवेशनको तयारीसम्बन्धी छलफल पनि सचिवालय बैठकमा हुनेछ।







