धादिङका स्थानीय तहले सांसद आशिका तामाङको निर्देशनप्रति असन्तुष्टि जनाए
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । धादिङका १३ वटा स्थानीय तहले संयुक्त विज्ञप्ति जारी गर्दै सांसद आशिका तामाङको सामाजिक सञ्जालमार्फत दिएको निर्देशनप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
धादिङ–१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रास्वपा सांसद आशिका तामाङले फेसबुकमा स्टाटस राख्दै मलेखु–ताल्तीसम्म जाने सवारी साधनले ढुवानीका लागि शुल्क तिर्न नपर्ने र सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइसकेको जानकारी दिएकी थिइन्। उनले निर्देश विपरीत शुल्क उठाएमा कारबाही गरिने चेतावनी पनि दिएकी छिन्।
यसको विरोधमा धादिङका १३ वटै स्थानीय तहका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षहरूले नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाको अध्यक्षतामा बैठक बसेको थियो। बैठकले जिल्ला प्रशासन कार्यालय र सांसदको निर्देशनले स्थानीय तहको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको भन्दै कडा असन्तुष्टि व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ।
संयुक्त विज्ञप्तिमा संघीय शासन प्रणालीको मर्मअनुसार तीनै तहका सरकारबीच पारस्परिक सम्मान, समन्वय, सहकार्य र सहअस्तित्व कायम गर्नुपर्नेमा जोड दिइएको छ। स्थानीय तहका जनप्रतिनिधिहरूले नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको अधिकार कार्यान्वयनमा अवरोध नपरोस् भनी आगामी दिनमा आवश्यक कदम चाल्ने योजना बनाएको जनाइएको छ।








