खक्रौला नाका विवादपछि सशस्त्र प्रहरीमाथि छानबिन, कारबाही प्रक्रिया सुरु

User Image Prime TV News २ हप्ता अगाडि
Image of खक्रौला नाका विवादपछि सशस्त्र प्रहरीमाथि छानबिन, कारबाही प्रक्रिया सुरु

धनगढी । कैलालीको खक्रौला नाकामा सामान बरामद गर्ने विषयलाई लिएर उत्पन्न विवादपछि सशस्त्र प्रहरीमाथि छानबिन तथा कारबाही प्रक्रिया अघि बढाइएको छ।

मंगलबार साँझ भारतबाट जीएसटी बिलसहित ल्याइएको सामान सशस्त्र प्रहरीको बीओपी खक्रौलाले अवैध भन्दै बरामद गरेपछि व्यवसायी र सुरक्षाकर्मीबीच तनाव उत्पन्न भएको थियो । टीकापुरस्थित व्यवसायी तथा उद्योग वाणिज्य संघले उक्त कदमको विरोध जनाउँदै वैध कागजात भएका सामानसमेत जफत गरिएको आरोप लगाएका थिए।

विवाद चर्किएपछि सशस्त्र प्रहरीले बरामद गरिएको सामान सम्बन्धित व्यवसायीलाई फिर्ता गरिसकेको छ। व्यवसायीहरूले सीमा क्षेत्रमा सुरक्षाकर्मीबाट अनावश्यक दुःख दिइएको गुनासो गर्दै यस्ता गतिविधि रोक्न माग गरेका छन्।

घटनाकै बीच बुधबार बीओपी खक्रौला पुगेको एक समूहले त्यहाँका प्रमुख डीएसपी प्रदीप पौडेलमाथि हातपात गरेको भिडियो सार्वजनिक भएपछि घटनाले थप मोड लिएको छ। यस घटनापछि सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीले सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। बाहिनीका निमित्त प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीका अनुसार समितिलाई घटनाबारे सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।

स्रोतका अनुसार डीएसपी पौडेलबाहेक बीओपीमा कार्यरत अन्य सशस्त्र प्रहरीलाई गणमा तान्ने तयारी भए पनि हालसम्म त्यसबारे अन्तिम निर्णय भएको छैन। सशस्त्र प्रहरी बल नम्बर ३४ गण धनगढीका प्रमुख एसपी खुमबहादुर केसीले छानबिन प्रक्रिया सकिएपछि मात्र आवश्यक निर्णय लिइने बताएका छन्। सशस्त्र प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिँदै दोषी देखिएकामाथि आवश्यक कारबाही गरिने जनाएको छ।