सबै पक्षसँगको निरन्तर संवाद र सहकार्यका कारण निर्वाचन सम्भव भयोः रामप्रसाद भण्डारी

User Image Prime TV News २ हप्ता अगाडि
Image of सबै पक्षसँगको निरन्तर संवाद र सहकार्यका कारण निर्वाचन सम्भव भयोः रामप्रसाद भण्डारी

काठमाडौ । जेनजी आन्दोलनपछिको चुनौतीपूर्ण राजनीतिक परिवेशका बीच प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सबै पक्षसँगको निरन्तर संवाद र सहकार्यका कारण निर्वाचन सम्भव भएको बताएका छन्।

बिहीबार समानुपातिकतर्फ निर्वाचित ११० जना सांसदलाई प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै भण्डारीले फागुन २१ गतेको निर्वाचन सहज रूपमा सम्पन्न हुनुमा राजनीतिक दल, सुरक्षाकर्मी, कर्मचारी तथा आममतदाताको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे।

उनका अनुसार भदौ २३ र २४ को विद्रोहपछिको परिस्थितिमा संविधानको संरक्षणका लागि राष्ट्रपतिबाट घोषणा गरिएको यो निर्वाचन सामान्य आवधिक प्रक्रिया नभई विशेष परिस्थितिमा गरिएको आवश्यक कदम थियो। ‘निर्वाचनको विकल्प थिएन,’ उनले भने, ‘यद्यपि विभिन्न आशंका र अवरोधका बीच आयोगले सबै पक्षलाई संवादमा ल्याएर वातावरण तयार गरेको थियो।’

भण्डारीले अन्योल र तनावपूर्ण अवस्थालाई चिर्दै निर्धारित समयमै निर्वाचन सम्पन्न हुनु लोकतान्त्रिक प्रक्रियाका लागि सकारात्मक संकेत भएको बताए। उनले उक्त सहकार्य र संवादकै परिणामस्वरूप नवनिर्वाचित सांसदहरूले प्रमाणपत्र प्राप्त गरेको उल्लेख गरे।

नवनिर्वाचित सांसदहरूलाई बधाई दिँदै उनले अब मुलुकको राजनीतिक स्थायित्वका लागि प्रभावकारी कानुन निर्माण र नीतिगत निर्णयमा ध्यान दिनुपर्नेमा जोड दिए। उनले सांसदहरूको भूमिकाले विगतको अस्थिरता कम गर्दै देशलाई स्थिर मार्गतर्फ लैजान मद्दत पुग्ने विश्वास व्यक्त गरे।