पर्यटकीय भिसामा रहेका विदेशी खेलाडीलाई फुटबल प्रतियोगितामा सहभागी नगराउन अध्यागमन विभागको निर्देशन
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । अध्यागमन विभागले पर्यटकीय भिसामा नेपालमा रहेका विदेशी खेलाडीहरूको सहभागिताबारे कडाइ गरेको छ। विभागले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्र पठाउँदै पर्यटक भिसामा आएका विदेशी नागरिकलाई कुनै पनि फुटबल प्रतियोगितामा सहभागी नगराउन स्पष्ट निर्देशन दिएको हो।
विभागका अनुसार हाल एन्फा मातहत सञ्चालन भइरहेका राष्ट्रिय महिला तथा पुरुष लिग फुटबलमा केही क्लबहरूले पर्यटक भिसामा नेपाल आएका विदेशी खेलाडीलाई समावेश गरेको भन्दै उजुरी परेको थियो। सोही आधारमा विभागले छानबिन गर्दै नियम उल्लंघन भएको आशंका गरेपछि यस्तो निर्देशन जारी गरेको जनाएको छ।
अध्यागमन नियमावली, २०५१ को नियम २० अनुसार विदेशी नागरिकले प्राप्त गरेको भिसाको उद्देश्यभन्दा फरक गतिविधिमा संलग्न हुन पाउँदैनन्। खेलकुद प्रतियोगितामा सहभागिता जनाउनका लागि सम्बन्धित भिसा आवश्यक पर्ने व्यवस्था रहेकाले पर्यटक भिसामा रहेका खेलाडीलाई खेलाउनु कानुनी रूपमा निषेध गरिएको विभागले स्पष्ट पारेको छ।
विभागको निर्देशनसँगै अब एन्फा र सम्बन्धित क्लबहरूले विदेशी खेलाडीको सहभागिता गराउँदा भिसा प्रक्रियामा विशेष ध्यान दिनुपर्ने भएको छ। अन्यथा नियम उल्लंघन गर्नेहरूलाई कारबाही हुन सक्ने चेतावनीसमेत दिइएको छ।














