प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन भूमिका खेलेकोमा धन्यवाद दिन प्रधानमन्त्री कार्की कर्णाली प्रदेश
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की कर्णाली प्रदेशको औपचारिक भ्रमणमा पुगेकी छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन भूमिका खेलेका मतदाता, कर्मचारी तथा सुरक्षाकर्मीलाई धन्यवाद दिन उनी कर्णाली पुगेकी हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सहयोग पुर्याउने सबै पक्षप्रति आभार व्यक्त गर्ने कार्यक्रम तय गरेकी छन्। सो क्रममा उनले स्थानीय तहका प्रतिनिधि र सर्वसाधारणसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ।
भ्रमणकै अवसरमा प्रधानमन्त्री कार्की प्रसिद्ध पर्यटकीय गन्तव्य रारा ताल पुगेकी छन्। प्राकृतिक सौन्दर्यले भरिपूर्ण रारा क्षेत्रको अवलोकन गर्दै उनले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको सन्देश दिएकी छन्।
यसअघि प्रधानमन्त्री कार्की पोखरा र मुक्तिनाथको पनि भ्रमण गरिसकेकी छन्। पछिल्ला दिनमा उनका यस्ता भ्रमणलाई धार्मिक तथा पर्यटकीय स्थलको प्रवर्द्धनसँग जोडेर हेरिएको छ। सरकारका तर्फबाट कर्णालीजस्तो दुर्गम क्षेत्रको विकास र पर्यटन विस्तारमा प्राथमिकता दिने संकेतका रूपमा पनि यस भ्रमणलाई महत्वका साथ हेरिएको छ।












