प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण

User Image Prime TV News २ हप्ता अगाडि
Image of प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण

काठमाडौ । नेपालमा प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरिएको छ। बिहीबार निर्वाचन आयोगको कार्यालय, कान्तिपथमा आयोजित एक औपचारिक कार्यक्रममा ११० जना नवनिर्वाचित सांसदलाई प्रमाणपत्र हस्तान्तरण गरिएको हो।

कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू सगुनशमशेर जबरा र जानकीकुमारी तुलाधरको उपस्थिति रहेको थियो। उनीहरूले सांसदहरूलाई खादामाला लगाएर बधाई दिएका थिए भने आयोगका सचिव कृष्णबहादुर राउतले प्रमाणपत्र वितरण गरेका थिए।

गएको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट ६ वटा राजनीतिक दलले सिट प्राप्त गरेका थिए। प्राप्त मतका आधारमा सिट बाँडफाँट गरिएको थियो । निर्वाचन परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो दल बन्दै ५७ सिट जित्न सफल भएको छ। त्यसैगरी नेपाली कांग्रेसले २० सिट, नेकपा एमालेले १६ सिट र नेकपाले ९ सिट प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीले समान ४/४ सिट हासिल गरेका छन्।

यसअघि चैत २ गते निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरूको नामावली सार्वजनिक गरेको थियो। सोही सूचीअनुसार बिहीबार प्रमाणपत्र वितरण गरी उनीहरूलाई औपचारिक रूपमा निर्वाचित सांसदको मान्यता दिइएको हो। यससँगै प्रतिनिधिसभाको समानुपातिकतर्फको निर्वाचन प्रक्रिया पूर्ण रूपमा सम्पन्न भएको आयोगले जनाएको छ।