रास्वपाको जित स्वीकार्नुपर्ने, प्रारम्भिक अवधिमा आलोचना नगर्न बास्कोटाको सुझाव
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको जनमतलाई स्वीकार गर्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा धारणा सार्वजनिक गर्दै बास्कोटाले नयाँ सरकारको कार्यसम्पादनबारे तत्काल टिप्पणी गर्नु उपयुक्त नहुने उल्लेख गरेका छन्। उनले सरकार गठनपछिको कम्तीमा तीन महिनासम्म पर्खिएर मूल्याङ्कन गर्नुपर्ने बताएका हुन्।
“रास्वपाले चुनाव जित्यो, अब कसरी सरकार चलाउँछन् भन्ने उनीहरूकै विषय हो,” उनले लेखेका छन्, “नयाँ सरकारले काम थालेको तीन महिनासम्म अरूले टिप्पणी गर्नुको अर्थ छैन।” बास्कोटाले जनता सधैँ साझा रहने उल्लेख गर्दै यसपटक मतदाताले रास्वपाका प्रतिबद्धता र एजेन्डामा विश्वास व्यक्त गरेको स्वीकार गरेका छन्।
साथै, चुनावपछि देखिएका आलोचना र असन्तुष्टिलाई संकेत गर्दै उनले अनावश्यक टीकाटिप्पणी नगर्न आग्रह गरेका छन्। उनले राजनीतिक दलहरूबीच धैर्यता र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै “खाँबो चिथोर्न बन्द गरे हुने” भन्ने अभिव्यक्तिमार्फत स्थिर राजनीतिक वातावरणको आवश्यकता औंल्याएका छन् ।







