कम्बोडियाबाट २० नेपालीको उद्धार, काठमाडौं फर्काइयो
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । कम्बोडियामा विभिन्न कारणले अलपत्र परेका २० नेपाली नागरिकको उद्धार गरिएको छ। थाइल्याण्डस्थित नेपाली दूतावासले उनीहरूको उद्धार गरी स्वदेश फर्काएको जनाएको छ ।
दूतावासले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार उद्धार गरिएकाहरू अनलाइन स्क्यामिङ केन्द्र, ठगीमा संलग्न क्यासिनो तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न गराइएको अवस्थामा भेटिएका थिए। केही नेपाली विनाभिसा बस्दै आएको समेत पाइएको दूतावासले जनाएको छ।
उनीहरूको उद्धार दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा सम्भव भएको हो। उद्धारपश्चात उनीहरूलाई गैरआवासीय नेपाली संघ, कम्बोडियाको समन्वयमा बुधबार नै काठमाडौं पठाइएको दूतावासले जानकारी दिएको छ।
पछिल्लो समय रोजगारीको प्रलोभनमा परेर दक्षिणपूर्वी एशियाका देशहरूमा पुगेका नेपालीहरू अनलाइन ठगी तथा गैरकानुनी काममा फस्ने घटनाहरू बढिरहेका छन्। दूतावासले यस्ता प्रलोभनबाट सचेत रहन सबैलाई आग्रह गरेको छ।








