कांग्रेस बैठकमा थापाको राजीनामा अस्वीकृत गर्ने तयारी
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको शुक्रबार बस्ने बैठकमा सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव प्रस्तुत गरिने भएको छ।
थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भोगेको पराजयको नैतिक जिम्मेवारी लिँदै बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका थिए। तर पार्टीभित्र बहुमत नेताहरू राजीनामा स्वीकार गर्न नहुने पक्षमा देखिएका छन्।
शुक्रबारको बैठकमा थापा सहभागी नहुने स्रोतले जनाएको छ। बैठकको अध्यक्षता उपसभापति शर्माले गर्नेछन्। बैठकमा उनले थापाको राजीनामाबारे औपचारिक जानकारी गराउँदै उक्त राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गर्ने तयारी गरेको जनाइएको छ।
कांग्रेसका नेताहरूका अनुसार निर्वाचनमा भएको पराजयको जिम्मेवारी एक व्यक्तिमा मात्र सीमित नहुने, विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई छोटो समयमै चुनावमा होमिनुपरेको लगायतका कारण प्रस्तुत गर्दै राजीनामा अस्वीकृत गर्न प्रस्ताव ल्याइनेछ।
गत पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थापा सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडेका थिए। तर उनी अमरेस कुमार सिंहसँग पराजित भएका थिए।
निर्वाचनपछि कांग्रेसले देशभरका निर्वाचन क्षेत्रबाट विजय र पराजयका कारणसहित प्रतिवेदन माग गरेको थियो। ती प्रतिवेदनको समग्र निष्कर्षसमेत बैठकमा प्रस्तुत गरिने बताइएको छ। यसअघि पनि थापाले राजीनामा दिने संकेत गरे पनि उपसभापति शर्मा लगायतका नेताहरूले उनलाई रोक्दै आएका थिए।
विभिन्न जिल्लाका नेताहरूले समेत सार्वजनिक रूपमा राजीनामा नदिन आग्रह गर्दै आएका छन्।







