प्रतिनिधिसभाका दलहरूको बैठक आज, संसदीय प्रक्रिया अघि बढाउने विषयमा छलफल हुने
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आज आह्वान गरेको छ। संसद्का महासचिव पद्मप्रसाद पाण्डेका अनुसार बैठक दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्नेछ।
प्रतिनिधिसभा निर्वाचन पछि पहिलोपटक सबै दलहरूलाई एकै ठाउँमा बोलाइएको यो बैठकमा आगामी संसदीय प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा प्रारम्भिक छलफल हुने जनाइएको छ। सचिवालयले संसद् सञ्चालनको तयारी, दलहरूबीच समन्वय तथा आवश्यक प्रक्रियागत विषयहरूमा सहमति जुटाउने उद्देश्यले बैठक आह्वान गरेको हो।
निर्वाचनबाट प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी ६ दलले प्रतिनिधित्व गरेका छन्। सचिवालयका अनुसार बैठकले तत्काल ठोस निर्णय नगरे पनि संसद् बैठक आह्वान, सभामुख चयन, र सरकार गठनका लागि आवश्यक आधार तय गर्ने दिशामा छलफल केन्द्रित रहनेछ।







