इरानको आणविक कार्यक्रम पुनः सुरु नभएको अमेरिकी निष्कर्ष, ट्रम्पको युद्ध औचित्यमाथि गम्भीर प्रश्न
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रिय गुप्तचर निकायले इरानले आफ्नो आणविक संवर्द्धन क्षमता पुनर्निर्माण नगरेको निष्कर्ष सार्वजनिक गरेको छ।
निर्देशक तुलसी गब्बार्डले अमेरिकी सिनेटको गुप्तचर समितिमा बुझाएको लिखित प्रतिवेदनमा सन् २०२५ मा अमेरिका र इजरायलले गरेको आक्रमणपछि इरानको आणविक कार्यक्रम पूर्ण रूपमा ध्वस्त भएको र त्यसलाई पुनः सुरु गर्ने कुनै संकेत नदेखिएको उल्लेख गरेकी छन्।
सन् २०२५ जुनमा सञ्चालन गरिएको अपरेशन मिडनाइट ह्यामर अन्तर्गत इरानका आणविक केन्द्रहरूमा व्यापक सैन्य कारबाही गरिएको थियो। उक्त आक्रमणले इरानको कार्यक्रमलाई 'जरैदेखि उखेलेको' गब्बार्डको निष्कर्षमा उल्लेख छ। त्यसयता इरानले आणविक संवर्द्धन पुनः सुरु गरेको प्रमाण फेला नपरेको जनाइएको छ।
यो खुलासाले डोनाल्ड ट्रम्पले अघि सारेको युद्धको मुख्य आधारमै प्रश्न उठाएको छ। ट्रम्प प्रशासनले इरानको आणविक महत्वाकांक्षालाई विश्व सुरक्षाका लागि खतरा भन्दै कूटनीतिक वार्ता छाडेर सैन्य कदम चालेको थियो। तर अहिलेको प्रतिवेदनले त्यही तर्क कमजोर र विरोधाभासी देखाएको छ।
सार्वजनिक सुनुवाइका क्रममा गब्बार्डले आफ्नो लिखित प्रतिवेदनको यो महत्वपूर्ण अंश वाचन नगरेपछि थप विवाद उत्पन्न भएको छ। पछि उनले समय अभावका कारण उक्त भाग छुटेको बताइन्, तर प्रतिवेदनमा उल्लेख गरिएको तथ्य भने अस्वीकार गरिनन्। यसै विषयमा मार्क वार्नर ले तथ्य लुकाउन खोजिएको आरोप लगाएका छन्।
ट्रम्पले एकातर्फ २०२५ को आक्रमणले इरानको क्षमता समाप्त भएको दाबी गर्दै आएका छन् भने अर्कोतर्फ इरान अझै पनि तत्काल खतरा भएको भन्दै युद्धको औचित्य पुष्टि गर्ने प्रयास गरिरहेका छन्।
इरानले भने आफू आणविक हतियार निर्माणको दौडमा नरहेको दाबी दोहोर्याउँदै आएको छ। अन्तर्राष्ट्रिय अनुगमनकर्ताहरूले पनि इरानबाट तत्काल ठूलो खतरा नरहेको मूल्यांकन गर्दै आएका छन्।












