नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधिसभा निर्वाचनमा पराजयपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्। फागुन २१ गते सम्पन्न निर्वाचनमा हार व्यहोरेपछि उनले त्यसको नैतिक जिम्मेवारी लिँदै पद त्याग गर्ने निर्णय गरेका हुन्।
स्रोतका अनुसार थापाले आफ्नो राजीनामा उपसभापति विश्वप्रकाश शर्मालाई बुधबार नै बुझाइसकेका छन्। तर, राजीनामा पत्र हालसम्म सार्वजनिक गरिएको छैन। कांग्रेसले चैत ६ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइसकेको अवस्थामा बैठकअघि नै आएको यो निर्णयले पार्टीभित्र नयाँ बहस सुरु गराएको छ।
थापा सर्लाही–४ बाट अमरेश सिंह सँग पराजित भएका थिए। उनको पराजयसँगै कांग्रेसका धेरै शीर्ष नेताले पनि चुनाव जित्न नसकेको अवस्था छ। समग्र नतिजामा नेपाली कांग्रेसले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा पार्टी कमजोर प्रतिपक्षमा सीमित भएको छ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी ले झन्डै दुई तिहाइ सिट जित्दै शक्तिशाली रूपमा उदाएको छ। कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट मात्र जित्न सकेको छ, जुन परिणाम पार्टीका लागि गम्भीर झट्का बनेको छ।
थापा काठमाडौको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए। तर उक्त महाधिवेशनको वैधानिकतामाथि शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्, जुन हाल विचाराधीन छ।
निर्वाचनमा कमजोर प्रदर्शन र त्यसपछि आएको नेतृत्व संकटले कांग्रेसभित्र गम्भीर पुनर्विचारको आवश्यकता देखिएको छ। पार्टीभित्रैबाट नेतृत्वप्रति आलोचना बढिरहेका बेला थापाको राजीनामाले आगामी राजनीतिक समीकरणमा थप प्रभाव पार्ने अनुमान गरिएको छ।












