हिमालय क्षेत्रमा जलवायु संकट: सहकार्य विस्तारमा जोड
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । हिन्दुकुश–हिमालय क्षेत्रमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न क्षेत्रीय सहकार्य अपरिहार्य रहेकोमा सरोकारवालाहरूले जोड दिएका छन्।
काठमाडौं विश्वविद्यालयको आयोजनामा सम्पन्न हिमालयन युनिभर्सिटी कन्सोर्टियम सम्बन्धी कार्यक्रममा सहभागीहरूले अनुसन्धान, नीति निर्माण र शैक्षिक साझेदारीलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएका हुन्।
कार्यक्रममा बोल्दै विभा धवनले विश्वविद्यालय र अनुसन्धान संस्थाहरूले हिमालय क्षेत्रमा केन्द्रित जलवायु मोडेल विकास, हिमनदी अनुगमन, जैविक विविधता संरक्षण तथा विपद् जोखिम अध्ययनमा अग्रणी भूमिका खेल्नुपर्ने बताइन्।
हिन्दुकुश–हिमालय क्षेत्रका देशहरूबीच सहकार्यात्मक अनुसन्धान सञ्जाल निर्माणले क्षेत्रीय चुनौतीहरूको समाधानमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। वातावरणविद् तथा पूर्व न्यायाधीश आनन्द मोहन भट्टराईले हिमालय संरक्षणका लागि प्रभावकारी कानुनी ढाँचाको आवश्यकता औंल्याए।
यसैगरी अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का कार्यकारी निर्देशक पेमा ग्याम्सो ले हिमालय क्षेत्रलाई परस्पर निर्भर प्रणालीका रूपमा व्याख्या गर्दै एक ठाउँको समस्या समग्र क्षेत्रमा फैलिने चेतावनी दिए।
कार्यक्रममा विभिन्न देशका कूटनीतिज्ञ, शैक्षिक संस्थाका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय विज्ञहरूको उल्लेख्य सहभागिता रहेको छ। सहभागीहरूले दीर्घकालीन सहकार्य, वित्तीय दिगोपन र साझा कार्ययोजना निर्माणमा जोड दिएका छन्।
सन् २००७ मा स्थापना भएको कन्सोर्टियमले हाल १०० भन्दा बढी विश्वविद्यालयहरूलाई समेट्दै हिमालय क्षेत्रका साझा चुनौतीहरू समाधान गर्न साझा मञ्चका रूपमा काम गर्दै आएको छ। कार्यक्रम ‘काठमाडौं घोषणापत्र’ जारी गर्दै समापन हुने जनाइएको छ।












