चुनावी लहर वा एकपटकको ठूलो जितले दीर्घकालीन सफलता सुनिश्चित गर्दैनः महासचिव पोखरेल

User Image Prime TV News २ हप्ता अगाडि
Image of चुनावी लहर वा एकपटकको ठूलो जितले दीर्घकालीन सफलता सुनिश्चित गर्दैनः महासचिव पोखरेल

काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावी सफलता वा एकपटकको ठूलो जितले दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित नहुने चेतावनी दिएका छन्।

पोखरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत १९८४ को भारतीय लोकसभा निर्वाचनको उदाहरण दिएका छन्। त्यतिबेला कांग्रेस (आई) ले दुई तिहाइभन्दा बढी सिटमा ऐतिहासिक विजय हासिल गरेको थियो, जबकि भारतीय जनता पार्टी (भाजपा) केवल दुई सिटमा सीमित भएको थियो।

तर कांग्रेस (आई) त्यसपछि क्रमशः कमजोर हुँदै गएको र भाजपा विस्तारै सशक्त भएर आज नरेन्द्र मोदी नेतृत्वमा लगातार तेस्रो कार्यकालका लागि भारतको केन्द्र सरकारमा पुगेको उनले औँल्याए। महासचिव पोखरेलले भने, “चुनावी लहर वा एकपटकको ठूलो जितले मात्र दीर्घकालीन सफलता सुनिश्चित गर्दैन। जनअपेक्षा पूरा गर्ने क्षमता, संगठनको मजबुती र निरन्तर जनसमर्थन कायम राख्ने रणनीति नै दीर्घकालीन सफलताको आधार हुन्।”

हालको निर्वाचनमा एमालेले अनपेक्षित पराजय भोगेपछि पार्टीभित्र पुनर्गठन र समीक्षा प्रक्रिया सुरु भएको छ। मातहतका कमिटीहरूले स्वःस्फूर्त रूपमा रणनीति र संगठन सुदृढीकरणका उपायहरू खोज्न थालेका छन्, जसले आगामी दिनमा पार्टीको दीर्घकालीन स्थायित्व र सफलता सुनिश्चित गर्ने लक्ष्य राखेको छ।