नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण चैत १२ गतेभित्र सम्पन्न गर्ने तयारी
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि संघीय संसद् सञ्चालनका लागि आवश्यक प्रक्रिया तीव्र पारिएको छ। संसद सचिवालयले नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण चैत १२ गतेभित्र सम्पन्न गर्ने र चैत १५ गते प्रतिनिधिसभाको पहिलो बैठक बसाल्ने तयारी गरेको जनाएको छ।
सचिवालयका अनुसार निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन पेश गरेसँगै सांसदहरूको आधिकारिक विवरण संसद सचिवालयमा आउनेछ। सो विवरण प्राप्त भएपछि सचिवालयले शपथ ग्रहणका लागि नवनिर्वाचित सदस्यहरूलाई सात दिने सूचना जारी गर्नेछ। साथै, शपथ समारोहका लागि राष्ट्रपतिसँग समय मिलाउन आवश्यक पत्राचार गरिनेछ।
कानुनी व्यवस्था अनुसार प्रतिनिधिसभाका ज्येष्ठ सदस्यलाई पहिले शपथ गराई अस्थायी रूपमा सभामुखको जिम्मेवारी दिइनेछ। त्यसपछि अन्य सबै सांसदहरूको शपथ सम्पन्न गरिनेछ। यी सम्पूर्ण प्रक्रिया पूरा गर्दा चैत १२ गतेसम्म पुग्ने अनुमान गरिएको छ।
शपथ ग्रहणपछि राजनीतिक दलहरूले आफ्ना संसदीय दलका नेता चयन गर्नेछन्। त्यसलगत्तै राष्ट्रपतिबाट नयाँ सरकार गठनका लागि आह्वान हुनेछ। यदि चैत १२ वा १३ गतेभित्र सरकार गठन प्रक्रिया अघि बढेमा चैत १५ गते प्रतिनिधिसभाको पहिलो बैठक बोलाउने तयारी सचिवालयले गरेको छ।
यसरी, निर्वाचनपछिको संवैधानिक र संसदीय प्रक्रिया समयमै सम्पन्न गरी नयाँ सरकार गठन र संसद् सञ्चालनतर्फ सरकार तथा सम्बन्धित निकायहरू केन्द्रित देखिएका छन्।







