इन्धन मूल्यवृद्धिपछि सार्वजनिक सवारी भाडा बढाउने तयारी
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी अघि बढाएको छ।
लामो समयदेखि वैज्ञानिक भाडादर समायोजन कार्यान्वयन नभएको भन्दै यातायात व्यवसायीहरूको दबाब बढेपछि यातायात व्यवस्था विभागले भाडा समायोजनको गृहकार्य थालेको हो।
पछिल्लो समय पश्चिम एसियामा इजरायल, इरान र संयुक्त राज्य अमेरिका बीच बढ्दो तनावका कारण पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको छ। यही अवस्थालाई आधार बनाएर यातायात व्यवसायीहरूले भाडा वृद्धि गर्न सरकारलाई दबाब दिइरहेका छन्।
नेपाल आयल निगमले आइतबार मध्यरातिदेखि लागू हुने गरी डिजेलमा प्रतिलिटर १० रुपैयाँ मूल्यवृद्धि गर्दै १५२ रुपैयाँ कायम गरिसकेको छ। इन्धनको मूल्य बढेलगत्तै व्यवसायीहरूले सार्वजनिक सवारी भाडा समायोजन गर्न माग गरेका हुन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विज्ञप्ति जारी गर्दै इन्धन मूल्यवृद्धिले यातायात क्षेत्रमा प्रत्यक्ष असर परेको भन्दै तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ। महासंघले संघीय रुटको भाडा विभागबाट र प्रदेशअन्तर्गतको भाडा सम्बन्धित प्रदेश सरकारबाट छिटो निर्धारण गर्नुपर्ने बताएको छ।
विभागका एक उच्च अधिकारीका अनुसार केही दिनभित्रै भाडा समायोजन प्रक्रिया टुंग्याउने तयारी भइरहेको छ। “लामो समयदेखि वैज्ञानिक प्रणालीअनुसार भाडा समायोजन हुन सकेको छैन, अब त्यसलाई कार्यान्वयनमा ल्याउने तयारी भइरहेको छ,” उनले बताए।
सरकारले २०६५ सालमै वैज्ञानिक भाडादर समायोजन कार्यविधि लागू गरेको भए पनि १३ सूचकका आधारमा नियमित समायोजन हुन सकेको छैन। उक्त कार्यविधिअनुसार इन्धनको ३५ प्रतिशत र अन्य सञ्चालन लागतका ६५ प्रतिशत आधारमा भाडा निर्धारण गरिनुपर्ने व्यवस्था छ।
यस्तै, इन्धनमा ५ प्रतिशतसम्म मूल्य घटबढ हुँदा स्वचालित रूपमा भाडा समायोजन हुने प्रावधान रहे पनि पछिल्लो १५ महिनायता यो व्यवस्था प्रभावकारी रूपमा लागू हुन सकेको छैन। अन्तिम पटक २०८१ पुस २२ गते भाडादर समायोजन गरिएको थियो।
इन्धन मूल्यवृद्धिसँगै सार्वजनिक सवारी भाडा फेरि बढ्ने संकेत देखिएपछि सर्वसाधारणमा थप आर्थिक भार पर्ने चिन्ता बढेको छ ।







