इरानका सुरक्षा प्रमुख अली लारीजानी मारिएको इजरायलको दाबी
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । इसराइलका रक्षामन्त्रीले इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारीजानीको मृत्यु भएको दाबी गरेका छन्। उनले जारी गरेको विज्ञप्तिमा हालै इरानका एक उच्च सुरक्षा अधिकारीको मृत्युबारे जानकारी प्राप्त भएको उल्लेख गरेका छन्।
तर इरानी सञ्चारमाध्यमहरूले उक्त दाबीलाई अस्वीकार गर्दै लारिजानी जीवित रहेको र छिट्टै सार्वजनिक रूपमा देखिने बताएका छन्। यसैबीच, अलजजिराका अनुसार इरानको राजधानी तेहरानसहित विभिन्न सहरहरूमा विस्फोटका आवाजहरू सुनिएका छन्। अह्वाज, इस्फाहान र सिराजमा समेत आक्रमण भएको जानकारी सार्वजनिक भएको छ।
इजरायली सैन्य स्रोतहरूका अनुसार आईडीएफले लारिजानीलाई लक्षित गरेको दाबी गरिएको छ। तर उनी मारिएका वा घाइते भएका हुन् भन्नेबारे अझै स्पष्ट पुष्टि हुन सकेको छैन। त्यसैगरी, इसराइलले इरानको अर्धसैनिक ‘बासिज बल’ का कमाण्डर घोलमरेजा सोलेमानी मारिएको दाबी पनि गरेको छ। इरानले यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन।
लारिजानीलाई अगस्ट २०२५ मा राष्ट्रपति मसुद पेजेस्कियानले उक्त पदमा नियुक्त गरेका थिए। उनी इरानको सुरक्षा संयन्त्रमा प्रभावशाली व्यक्तित्वका रूपमा चिनिन्छन्। यसअघि सोमबार साँझ लारिजानीले इस्लामिक देशहरूको भूमिका प्रति असन्तुष्टि जनाउँदै सार्वजनिक सन्देश जारी गरेका थिए।
हाल घटनाबारे आधिकारिक पुष्टि नआएकाले लारिजानीको वास्तविक अवस्था र आक्रमणको प्रभावबारे अन्तर्राष्ट्रिय स्तरमा चासो बढिरहेको छ।












