यातायात क्षेत्र सुधारका लागि गठित आयोगले बुझायो सरकारलाई प्रतिवेदन
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । यातायात क्षेत्रसँग सम्बन्धित सर्वोच्च अदालतका आदेशहरूको प्रभावकारी कार्यान्वयनका लागि गठन गरिएको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन गृहमन्त्री ओमप्रकाश अर्याल समक्ष पेश गरेको छ।
मंगलबार सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष दिपक सुवेदी सहित सदस्यहरूले प्रतिवेदन बुझाएका हुन्। सरकारले गत २२ मंसिरमा सुवेदीको नेतृत्वमा शरद अधिकारी र योगेन्द्र नाथ कर्मचार्य सदस्य रहने गरी आयोग गठन गरेको थियो।
प्रतिवेदनमा सर्वोच्च अदालतका यातायात क्षेत्रसम्बन्धी फैसलाहरू कार्यान्वयन गर्न तत्काल आवश्यक कदमहरू र दीर्घकालीन रूपमा कानून संशोधन वा नयाँ कानून निर्माण गर्नुपर्ने विषयहरू समेटिएको आयोगले जनाएको छ।
अध्यक्ष सुवेदीका अनुसार प्रतिवेदनले यातायात क्षेत्रमा विगतदेखि देखिँदै आएका कानुनी, संस्थागत तथा प्रक्रियागत समस्याहरू समाधान गर्ने उद्देश्यसहित विस्तृत कार्ययोजना प्रस्तुत गरेको छ। उनले कार्यान्वयनका लागि स्पष्ट मार्गचित्र तयार पारिएको पनि जानकारी दिए।
प्रतिवेदन बुझ्दै गृहमन्त्री अर्यालले यसलाई प्राथमिकताका साथ मन्त्रिपरिषद्मा पेश गरी आवश्यक निर्णयमार्फत छिट्टै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। आयोगको सुझाव कार्यान्वयन भएमा यातायात क्षेत्रमा दीर्घकालीन सुधार आउने अपेक्षा गरिएको छ।












