कांग्रेसले केन्द्रीय समिति बैठक बोलाउने तयारी

User Image Prime TV News २ हप्ता अगाडि
Image of कांग्रेसले केन्द्रीय समिति बैठक बोलाउने तयारी

काठमाडौ । प्रतिनिधि सभा निर्वाचनमा अपेक्षाकृत कमजोर नतिजा आएपछि नेपाली कांग्रेसले पार्टीभित्र आन्तरिक समीक्षा तीव्र बनाएको छ। अघिल्लो निर्वाचनमा पहिलो दल बनेको कांग्रेस यसपटक नेतृत्व परिवर्तनसहित चुनावमा होमिएको भए पनि सन्तोषजनक नतिजा ल्याउन नसकेपछि दबाबमा परेको हो।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार हाल अनौपचारिक रूपमा चुनावी परिणामको समीक्षा भइरहेको छ भने छिट्टै केन्द्रीय समिति बैठक बोलाएर औपचारिक छलफल गर्ने तयारी भइरहेको छ। “अब केही दिनमै बैठक बसेर समग्र समीक्षा गर्छौँ,” उनले बताए।

यसपटकको निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट जित्दै दोस्रो स्थानमा सीमित भएको छ। नतिजापछि सभापति गगन थापा, उपसभापतिहरू, महामन्त्रीहरू लगायत शीर्ष नेताहरूबीच निरन्तर छलफल चलिरहेको छ।

यता, पार्टीभित्रको आन्तरिक विवाद पनि सतहमा आएको छ। संस्थापन पक्षले निर्वाचनमा आएको धक्काको कारण पूर्वसभापति निकट नेताहरूको असहयोगलाई मानेको छ। तर देउवा पक्षका नेताहरूले भने वर्तमान नेतृत्वलाई पूर्ण रूपमा स्वीकार नगरेको संकेत दिएका छन्।

विश्लेषकहरूका अनुसार कांग्रेसभित्रको गुटगत द्वन्द्व र समन्वय अभावले चुनावी प्रदर्शनमा असर पारेको देखिन्छ। अब हुने केन्द्रीय समिति बैठकले पार्टीको आगामी रणनीति, नेतृत्वको कार्यशैली र आन्तरिक एकताबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।