ट्रम्पको चीन भ्रमण स्थगित
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण स्थगित गरेका छन्। हाल इरानसँग जारी विवाद र युद्धको कारण उनी तत्काल अमेरिका बाहिर नजाने निर्णयमा पुगेका हुन्।
ट्रम्पले भने, “अहिले हाम्रो युद्ध चलिरहेको छ। मलाई लाग्छ म यहाँ हुनु आवश्यक छ।” उनले भ्रमण कहिले गर्ने भन्ने स्पष्ट जानकारी भने सार्वजनिक गरेका छैनन्। यसअघि ट्रम्पले चीनसँगको शिखर सम्मेलन अघि ‘स्ट्रेट अफ हर्मुज’ खोल्न दबाव दिन खोजेका थिए।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि हमला गरेपछि इरानले उक्त प्रमुख समुद्री मार्ग बन्द गरेको थियो। यो मार्गमार्फत विश्वको करिब २५ प्रतिशत कच्चा तेल र २० प्रतिशत ग्यास निर्यात हुन्छ। जलमार्ग बन्द हुँदा तेल आपूर्ति प्रभावित भएको र अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएको छ।
ट्रम्पले जलमार्ग खोल्न युद्धपोत पठाउने तयारी गरिरहेका छन्। उनले चीन, बेलायत लगायत देशलाई सहयोगको लागि आग्रह गरेका थिए, तर चीनले युद्धपोत पठाउने सम्भावना कम देखाइएको छ। चीन भ्रमणको क्रममा ट्रम्पले व्यापार सम्झौता अन्तिम रूप दिन र ताइवान लगायतका संवेदनशील विषयमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग छलफल गर्ने कार्यक्रम बनाएका थिए।
तर हर्मुज जलमार्ग खुलाउने प्रयासमा चीनको सहयोग नपाए भ्रमण ढिला गर्ने निर्णय ट्रम्पले लिएका हुन्।







