हाम्रो सरकार बन्दा पनि औँलो ठड्याएर आवश्यक खबरदारी गर्नुपर्छः उपसभापति वाग्ले
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीले एकल सरकार बनाए पनि गलत निर्णय भए त्यसको विरोध र प्रश्न उठाउन सांसदहरूले सक्रिय भूमिका खेल्नुपर्ने बताएका छन्।
मंगलबार नवनिर्वाचित सांसदहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सरकारको कामको समीक्षा, अनुगमन र निगरानी सांसदहरूको मुख्य जिम्मेवारी भएको बताए। उपसभापति वाग्लेले भने, “हामी कानुन बनाउन आएका हौँ। हाम्रो सरकार बन्दा पनि औँलो ठड्याएर आवश्यक खबरदारी गर्नुपर्छ।” उनले सांसदहरूलाई आफ्ना निर्वाचन क्षेत्रका जनताको मुद्दा बुलन्द स्वरमा उठाउन र नीति, विकास निर्माण, सामाजिक तथा आर्थिक विषयमा ध्यान दिन निर्देशन दिए।
स्वर्णिम वाग्लेले रास्वपाले जनताबाट अभूतपूर्व समर्थन पाएको स्मरण गराउँदै बाचा पत्रमा उल्लेख गरिएको थिम र थिति अनुसार काम गर्नुपर्ने बताए। उनले जोड दिए, “हामीले जनताको अपेक्षाअनुसार काम गरेर देखाउनुपर्छ र यसको माध्यमबाट पार्टीको प्रतिबद्धता प्रमाणित गर्नुपर्छ।”







