इतिहास लेख्ने अवसर सदुपयोग गर्नु पर्छः उपसभापति अर्याल
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले नवनिर्वाचित सांसदहरूलाई इतिहास लेख्ने अवसर सदुपयोग गर्न आग्रह गरेका छन्।
मंगलबार ललितपुरमा सुरु भएको अभिमुखीकरण कार्यक्रममा उनले सांसदहरूलाई जिम्मेवारीपूर्वक काम गर्न र अनुशासित समाज निर्माणमा सक्रिय भूमिका खेल्न निर्देशन दिएका हुन्। उपसभापति अर्यालले सम्बोधन गर्दै भने, “यो इतिहास लेख्ने सुवर्ण अवसर हो। यदि हामीले यसलाई सदुपयोग गर्न सकेनौं भने आफैंलाई माफ गर्न गाह्रो हुनेछ।”
उनले अस्पताल, विद्यालय वा कर तिर्न जाने बेला आफ्नै निर्वाचन क्षेत्रका नेताको खोजी गर्ने जस्ता पुराना अभ्यास समाप्त गर्न आवश्यक रहेको बताए। अर्यालले अहिलेको गम्भीर राजनीतिक परिस्थितिमा बन्न लागेको सरकार र सांसदहरूको जिम्मेवारी महत्वपूर्ण भएको भन्दै सबै प्रतिनिधिसभा सदस्यहरूलाई इमानदारिता, लगनशीलता र क्षमतालाई राष्ट्र र जनताको हितमा प्रयोग गर्न आग्रह गरे।
उनले सांसदहरूलाई आफ्नो भूमिकाप्रति गम्भीर भएर तयारी रहन र जनताको विश्वास जित्ने काममा सक्रिय रहन पनि निर्देशन दिए। अभिमुखीकरण कार्यक्रम आगामी दिनहरूमा पनि जारी रहनेछ। साथै उनले सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह कार्यव्यस्तताको कारणले पार्टीको अभिमुखीकरण कार्यक्रममा उपस्थित हुन नसकेको बताएका छन्।
अभिमुखीकरण उद्घाटनपछि बोल्दै अर्यालले भोलि समापनअघि सम्भव भएसम्म ल्याउने प्रयास गर्ने बताए।







