अभिमुखीकरण कार्यक्रममा रवि र बालेन सहभागी भएनन्
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले नवनिर्वाचित सांसदहरूलाई संसदीय भूमिकामा सक्षम बनाउन दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। मंगलबार ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा सुरु भएको उक्त कार्यक्रम बुधबारसम्म सञ्चालन हुनेछ।
कार्यक्रमको उद्घाटन उपसभापति डीपी अर्याल र नेता डा. स्वर्णिम वाग्लेले संयुक्त रूपमा गरेका छन्। उद्घाटनका क्रममा दुवैले सांसदहरूलाई प्रभावकारी संसदीय अभ्यास, नीति निर्माण र जनअपेक्षाअनुसार काम गर्न तयार रहन आग्रह गरेका छन्।
कार्यक्रमको प्रारम्भिक सत्रमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह भने सहभागी भएनन्। उपसभापति अर्यालका अनुसार स्वास्थ्य अवस्था र व्यस्त कार्यतालिकाका कारण उनीहरू उद्घाटनमा उपस्थित हुन नसकेका हुन्। यद्यपि, समापन सत्रसम्म उनीहरूलाई सहभागी गराउने प्रयास भइरहेको उनले जानकारी दिए।
अभिमुखीकरण कार्यक्रममा प्रत्यक्ष तथा समानुपातिक प्रणालीबाट निर्वाचित रास्वपा सांसदहरूको सहभागिता रहेको छ। कार्यक्रममा संसदीय प्रक्रिया, कानुन निर्माण, सुशासन र पार्टीको नीति तथा प्राथमिकताबारे प्रशिक्षण दिइनेछ।
रास्वपाले नयाँ सांसदहरूलाई व्यवस्थित र प्रभावकारी रूपमा संसद्मा प्रस्तुत गराउन यस्तो कार्यक्रम आयोजना गरेको जनाएको छ। समापन सत्रमा सभापति लामिछानेले सम्बोधन गर्ने कार्यतालिका रहेको छ।







