ग्यास अभावका बीच ठूलो परिमाणमा सिलिन्डर लुकाएर राखिएको भेटियो
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । ललितपुरमा ग्यास अभावका बीच ठूलो परिमाणमा सिलिन्डर लुकाएर राखिएको भेटिएपछि सम्बन्धित उद्योगलाई कारबाही गरिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योग प्रालिको गोदाममा छापा मार्दा ६ हजारभन्दा बढी ग्यास सिलिन्डर फेला परेको हो।
विभागका अनुसार चैत २ गते गरिएको अनुगमनका क्रममा १४.२ केजी क्षमताका ६ हजार ३ सय ७७ वटा ग्यास सिलिन्डर गोदाममा थन्क्याएर राखिएको अवस्थामा भेटिएको थियो। बजारमा ग्यास अभाव भइरहेका बेला कृत्रिम अभाव सिर्जना गरी जम्माखोरी गरेको आरोपमा उद्योगलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार ३ लाख रुपैयाँ जरिवाना गरिएको हो।
बरामद गरिएका सिलिन्डरहरू तत्काल बजारमा पठाउन निर्देशन दिइएको छ। नेपाल आयल निगमसँगको समन्वयमा ती ग्यास उपभोक्तामाझ उपलब्ध गराइने तयारी भइरहेको विभागले जनाएको छ। तर, सिलिन्डरहरू पूरा क्षमतामै बिक्री गर्ने वा आधा परिमाणमा वितरण गर्ने भन्ने विषयमा भने सम्बन्धित निकायबीच छलफल भइरहेको छ। निगमका प्रवक्ता मनोज ठाकुरले वितरणको मोडालिटीबारे छिट्टै निर्णय गरिने जानकारी दिएका छन्।
विभागले ग्यासको उच्च माग रहेको अवस्थामा आपूर्ति प्रभावित हुने गरी कृत्रिम अभाव सिर्जना नगर्न सबै उद्योगी तथा वितरकहरूलाई सचेत गराउँदै अनुगमनलाई अझ कडाइ गरिने जनाएको छ।












