दार्चुलामा आज बिहान भूकम्प गयो
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । दार्चुलामा मंगलबार बिहान मध्यम प्रकृतिको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १० बजेर १२ मिनेटमा सितौला आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको भए पनि हालसम्म कुनै ठूलो क्षति वा मानवीय हताहतीको खबर प्राप्त भएको छैन। स्थानीयवासीले केही समय हल्का कम्पन अनुभव गरेका थिए।
केन्द्रका तथ्यांक अनुसार पछिल्ला दिनहरूमा देशका विभिन्न भागमा साना परिमाणका भूकम्पहरू जाने क्रम जारी छ। यसअघि फागुन २२ गते बझाङको चैनपुर आसपास केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो भने फागुन १५ गते ताप्लेजुङको तोप्केगोला आसपास केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो।
भूकम्पविद्हरूका अनुसार ४ म्याग्निच्युडसम्मका भूकम्प सामान्यतया कम असरदार हुने भए पनि यस्ता कम्पनहरूलाई बेवास्ता नगरी आवश्यक सावधानी अपनाउनुपर्ने सुझाव दिएका छन्।












