अपराह्नपछि देशका विभिन्न स्थानमा हावाहुरीसहित मौसम बिग्रने सम्भावना

User Image Prime TV News २ हप्ता अगाडि
Image of अपराह्नपछि देशका विभिन्न स्थानमा हावाहुरीसहित मौसम बिग्रने सम्भावना

काठमाडौ । मंगलबार अपराह्नपछि देशका विभिन्न स्थानमा हावाहुरीसहित मौसम बिग्रने सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना तथा हल्का वर्षा हुन सक्ने जनाएको छ। महाशाखाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

यसैबीच, सोमबार आएको हावाहुरीका कारण उदयपुरको कटारी नगरपालिका क्षेत्रमा दुई जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कटारी–८ थलियाटारकी ४९ वर्षीया मीनामाया तामाङको रुखको हाँगा लागेर मृत्यु भएको हो। त्यसैगरी कटारी–५ तीनकुने चोकस्थित राधाकृष्ण मन्दिर नजिक सखुवाको रुख ढल्दा ६४ वर्षीय वीरेन्द्र चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ।

हावाहुरीकै कारण अन्य ६ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि विराटनगर पठाइएको छ भने अन्य चार जनाको स्थानीय अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ। प्रहरीका अनुसार हावाहुरी र वर्षाका कारण कटारीको पहाडी क्षेत्रमा घरका छाना उड्नुका साथै सामान्य भौतिक क्षति भएको छ। 

मौसमविद्हरूले आगामी केही दिन देशका विभिन्न भागमा हावाहुरी र चट्याङको जोखिम रहने सम्भावना औंल्याउँदै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।