समानुपातिक सांसदहरूलाई प्रमाणपत्र दिइने
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गर्दै छ। निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार आगामी चैत्र ५ गते आयोग परिसरमा आयोजित एक कार्यक्रमबीच निर्वाचित उम्मेदवारहरूलाई प्रमाणपत्र दिइनेछ ।
आयोगले राजनीतिक दलहरूबाट छनोट भई आएका उम्मेदवारको नामावली सार्वजनिक गर्दै उनीहरू निर्वाचित भएको घोषणा गरिसकेको छ। प्रमाणपत्र लिन आउँदा उम्मेदवारले सक्कल नागरिकता वा राष्ट्रिय परिचयपत्र र दुई प्रति पासपोर्ट साइजको फोटोसहितको विवरण आजै उपलब्ध गराउन आयोगले आग्रह गरेको छ।
गत फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका छन्। समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९, श्रम संस्कृति पार्टीले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट प्राप्त गरेका छन्।
२७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षबाट १६५ र समानुपातिकबाट ११० जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ । समानुपातिकतर्फका सांसदलाई प्रमाणपत्र वितरण गरेसँगै यसपटकको निर्वाचन प्रक्रियाले पूर्णता पाउने आयोगले जनाएको छ।







